News
गल्छी–रसुवागढी सडकको मुआब्जा वितरण
बिजय के सि
१३ वैशाख २०७६, शुक्रबार काठमाडौं । नुवाकोट- गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय गौरवको आयोजना को रूपमा विस्तार भइरहेको योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण सुरु गरिएको छ । वि.सं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार पुस १ देखि सुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम एक वर्ष थपसहित ३३ महिनाभित्र वि.सं २०७६ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भयको हो । गल्छी–स्याफ्रुबेसी सडक अहिले कार्यमा रहेको अन्तर्राष्ट्रिय राजमार्ग को परिकल्पना सहित विस्तार भइरहेको सडकबाट स्तरोन्नति गर्न सडक आसपासको दाँयाबाँया १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसारको रकम उपलब्ध गराउन सुरु गरेको सडक योजनाका लेखा अधिकृत लिलाधर अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार जिल्लाको साविक दुईरकम उपलब्धपिपल, रातमाटे र जिलिङ गाविसमा पर्ने जग्गाधनीलाई चालू आवका लागि प्राप्त भएको २५ करोड रुपैयाँ उपलब्ध गराउने लक्ष्य राखिएको छ । साविक दुईपिपल, रातमाटे र जिलिङ गाविसमा सडकभित्र पर्ने एक हजार ४८१ रोपनी जग्गाका लागि चार अर्बभन्दा बढी रकम आवश्यक पर्ने भएकाले बाँकी रहेकालाई आगामी आव सुरु भएलगत्तै उपलब्ध गराउने योजना बनाएको अर्यालले बताए । साविक तीन गाविसमा पर्ने जग्गाधनी एक हजार ५७३ मध्ये बुधबार सम्म सात सय धनीले मुआब्जा उपलब्ध गराउन जग्गाधनी प्रमाण पत्रसहितको निवदेन दिएका छन् ।” उनले भने, “सडक योजनाले प्राप्त भएको निवेदन अनुसार प्रशासन कार्यालयमार्फत जग्गाधनीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।” मुआब्जा निर्धारण समितिले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा बस्ती विकास भएको स्थानको प्रतिआना तीन लाख २५ हजार रुपैयाँ र बस्ती नभएको स्थानको प्रतिआना दुई लाख ५० हजार रुपैयाँ मुआब्जा रकम निर्धारण गरेको छ । सडक विस्तार अन्तर्गत गल्छीदेखि स्याफ्रुबेसी सम्मको मुआब्जाका लागि मात्र १० अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । उनका अनुसार गल्छी–रसुवागढी सडक योजना अन्तर्गत मुआब्जा निर्धारण समितिले दोस्रो चरणमा अब साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुदै मनकामनाको नयाँपुलदेखि मैलुङसम्मको जग्गाको मूल्य निर्धारण गर्ने र साउन पहिलो साता साविक विदुर गाविस सडक भित्र पर्ने जग्गाको क्षेत्रफल सार्वजनिकको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी हुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक ८२ किमि दूरीको निर्माणकार्य भइरहेको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनामार्फत तीन खण्ड निर्माणका लागि नौ अर्ब ५० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्न ८२ किमि सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमि सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनमार्फत निर्माण भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमि सडक नेपाली सेनामार्फत निर्माण भएर गएको चैत ३० मा नै ट्रयाक सञ्चालनमा आइसकेको छ भने स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्म नेपाली सेनाले ट्रयाक सञ्चालनमा ल्याएसँगै स्तरोन्नतिका लागि सडक योजना कार्यालयले हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिरहेको छ । प्रशिक्षार्थी पत्रकार