News

आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् 

२०७६ बैशाख १४ शनिबार , काठमाडाैं / आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् । निर्माणका क्रममा रहेका र यसै वर्ष सम्पन्न हुने सूचीमा रहेका परियोजनाको प्रगतिले पनि वर्ष ०७६/७७ आशालाग्दो देखिन्छ । कृष्ण रिजाल र अच्युत पुरीको रिपोर्ट:

दुई महिनाभित्रै आउँदै छ पाइपलाइनबाट पेट्रोल

इन्डियन आयल कर्पोरेसन (आइओसी)को सहयोगमा निर्माणाधीन मोतीहारी–अमलेखगन्ज पाइपलाइन दुई महिनाभित्रै सम्पन्न हुँदै छ । आइओसीको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रबन्धक एनके पन्डाका अनुसार १५ असारभित्रै पाइपलाइनबाट तेल ढुवानी हुनेछ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय यो पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । पाइपलाइनबाट डिजेल ल्याउन सुरु गरिएपछि वार्षिक दुई अर्ब ढुवानी खर्च जोगिने निगमका पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख तथा अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए । त्यसपछि पेट्रोल ढुवानीको प्रक्रिया पनि सुरु हुनेछ । ढुवानी खर्च र तापक्रमका कारण हुने क्षति घट्दा उपभोक्ताले प्रतिलिटर तीनदेखि चार रुपैयाँ कममा डिजेल पाउने सम्भावना हुने यादवले बताए । परियोजनाको लागत पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ । 


बिजुली उत्पादन ११४९ मेगावाट

देशमा अहिले करिब ११ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । आर्थिक वर्ष ०७६÷७७ मा मात्रै १,१४९ मेगावाट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । स्वदेशी लगानीमा बनेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसीले आगामी पुसदेखि ४५६ मेगावाट बिजुली उत्पादन गर्नेछ । सुरुमा ७८ मेगावाटको युनिट चल्नेछ । त्यसपछि क्रमैसँग बाँकी पाँच युनिटबाट विद्युत् उत्पादन हुनेछ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले पनि पुसदेखि नै उत्पादन थाल्नेछ । ८२ मेगावाटको सोलु तल्लो, ४२/४२ मेगावाटका मिस्त्री खोला र साञ्जेन, ४० मेगावाटको खानीखोला–१ ले पनि उत्पादन सुरु गर्नेछन् । ०.०४ मेगावाटको लेगुवा खोलादेखि ३६ मेगावाटको माथिल्लो बलेफी एसम्मका थप ३७ जलविद्युत् आयोजना पनि यही वर्ष पूरा हुँदै छन् । यही वर्ष ११६ मेगावाटको माथिल्लो त्रिशूली–१ र १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण सुरु हुँदै छ । 

हेटौँडा–काठमाडौं छोटो दूरीको कान्ति लोकपथ असोजभित्रै

६ दशकअघि निर्माण थालिएको ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको ७९ किलोमिटरमध्ये ३४ किलोमिटर कालोपत्रे सकिएको छ । बाँकी कालोपत्रे धमाधम भइरहेको र असोज अन्तिमदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजना प्रमुख विनोद सापकोटाले बताए । काठमाडौं उपत्यका र हेटौँडालाई जोड्ने यो राजमार्ग सबैभन्दा छोटो अर्थात् ७९ किलोमिटरको मात्रै हुनेछ । 

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान

०७६ मा राजधानीबाहिरबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदै छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग यसै वर्ष उडानयोग्य बनाउने आयोजनाको लक्ष्य छ । रनवे तयार भएपछि आगामी सेप्टेम्बर (भदौ/असोज)सम्म विमानस्थल सञ्चालनमा आउनेछ । त्रिभुवन विमानस्थलमा प्राविधिक कारणले जहाज अवतरण गर्न नसके डाइभर्ट भएर भैरहवामा अवतरण गरिनेछ । अहिलेको धावनमार्गलाई ट्याक्सीवेमा रूपान्तरण गरिनेछ । यसै वर्षभित्र गौतमबुद्ध विमानस्थलबाटै सीधै अन्तर्राष्ट्रिय उडान भर्ने योजना छ । अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । 

यो आयोजना सन् २०१५ मा सुरु भएको हो । २०१७ मा सम्पन्न गर्ने लक्ष्य पूरा नभएपछि जुन २०१९ सम्मका लागि अवधि थपिएको थियो । यो आयोजना बनेपछि काठमाडौंको हवाई चाप घटेर जोखिम न्यूनीकरण हुने तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सीधा उडानमार्फत आउने पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा 
नेपाल र चीनबीच सन् २०१७ मा ऋण सम्झौता भएपछि नेपालको पर्यटकीय राजधानी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गति लिएको थियो । यो आयोजना जुलाई २०२१ मा सम्पन्न गर्ने लक्ष्य तोकिएकामा ६ महिनाअघि नै काम सकेर अन्तर्राष्ट्रिय उठान सुरु हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अर्थात् २०७६ भित्र आयोजनाको अधिकांश काम सम्पन्न हुनेछ । यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटक आगमनमा गुणात्मक वृद्धि हुने अपेक्षा छ । नेपालको निजी लगानीको बुद्ध एयरले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पर्यटकीय सम्भावना बोकेका सहरमा क्षेत्रीय उडानको तयारी अहिल्यैदेखि थालिसकेको छ । 

 त्रिभुवन विमानस्थलको रनवेमा नयाँ पिच, चौबीसै घन्टा सञ्चालन 
चार दशकपछि देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्काएर नयाँ बनाउने काम भइरहेको छ । १५ असारसम्म यो काम सकिनेछ । यससँगै पटकपटक पिच उप्किएर हुने दुर्घटनाको जोखिम घट्नेछ भने विमानस्थल चौबीसै घन्टा उडानयोग्य हुनेछ । हवाई ट्राफिक जाम घट्ने विमानस्थल व्यवस्थापनको दाबी छ । अहिले दैनिक १० घन्टामा ५० मिटर पिच उप्काएर नयाँ पिच राखिएको छ । १० घन्टाको अवधिभित्रै पिच सुकाएर बिहान ८ बजे जहाज उड्न तथा अवतरण गर्न सक्ने गरी तयार गरिँदै छ । यो विमानस्थलको रनवे तीन हजार मिटर लामो छ । 

तातोपानी नाका पुनः सञ्चालन हुँदै 
गोरखा भूकम्पपछि बन्द नेपाल–चीनको व्यस्त र काठमाडौंबाट नजिकको व्यापारिक नाका तातोपानी ०७६ मै पुनः सञ्चालन हुँदै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले आगामी दुई महिनाभित्रै सञ्चालनमा आउने बताए । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानी सुक्खा बन्दरगाहको निर्माण लभगभ सम्पन्न भएको छ । गत वर्ष नेपाल इन्टरमोडल यातायात विकास समिति र चिनियाँ वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक साझेदार एजेन्सीबीच ३० अप्रिल २०१९ अगावै बन्दरगाह निर्माण सम्पन्न गर्ने र २० मे २०१९ अघि नै नेपाललाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तातोपानी सुक्खा बन्दरगाहको कुल क्षेत्रफल ४.२ हेक्टर छ । बन्दरगाहमा ठूला एक सय ५८ र साना २३ गरी कुल एक सय ८१ सवारीसाधन पार्किङ गर्न सकिनेछ । 

उत्तरतर्फको अर्को नाका रसुवामा सुक्खा बन्दरगाह पनि निर्माण सुरु हुँदै छ । दुई महिनाभित्रै रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने विकास समितिले जनाएको छ ।

 सिमरामा गार्मेन्ट जोन तयार, उद्योग खुल्ने
सरकारले तयारी पोसाक उद्योगका लागि लक्षित गर्दै सिमरामा निर्माण गरेको गार्मेन्ट प्रोसेसिङ जोन (जिपिजेड) यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले दुई वर्ष लगाएर गार्मेन्ट जोन तयार गरेको हो । गार्मेन्ट जोनमा उद्योग स्थापनाका लागि आसयपत्र माग गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । उक्त जोनमा ७० प्लट तयार गरिएका छन् । करिब ४० गार्मेन्ट उद्योग स्थापना हुने अनुमान गरिएको छ । पानी, विद्युत्लगायत पूर्वाधारको विकास भइसकेकाले यस वर्षभित्रै गार्मेन्ट उद्योग नै सञ्चालन गर्न सकिने उनले बताए । गार्मेन्ट जोन सञ्चालनमा आएपछि नेपालको गार्मेन्ट निर्यात उच्चदरमा बढ्ने अपेक्षा गरिएको छ । 

 विराटनगरको एकीकृत भन्सार जाँचचौकी चल्ने
भारतको सहयोगमा विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसिपी) आगामी दसैँभित्र सञ्चालनमा ल्याउने तयारी छ । नेपाल–भारत एकीकृत जाँचचौकी निर्माण परियोजना स्टेरिङ कमिटीको आठौँ बैठकले आइसिपी एक वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएको थियो । ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । आइसिपीले दुईदेशीय व्यापार विस्तार, वस्तु ओसारपसार र दुई मुलुकका नागरिकको आवतजावतलाई सहज बनाउँदै आर्थिक वृद्धि र विकासमा साझेदारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । वीरगन्जमा भने आइसिपी सञ्चालनमा आइसकेको छ । भैरहवा र नेपालगन्जको आइसिपी निर्माणसमेत अघि बढ्ने ढकालले बताए । 

 दशकपछि जापान उड्दै नेपाल वायुसेवा निगमको जहाज 
असार तेस्रो साताबाट नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट जापानको  ओसाका विमानस्थलमा सीधा उडान थाल्दै छ । सन् २००८ मा नेपालले जापान उडान रद्द गरेको थियो । त्यसवेला नेवानिको जहाज चीनमा ट्रान्जिट पारेर जापान जाने गरेको थियो । नेपाल वायुसेवा निगमको आन्तरिक अर्थतन्त्रमा मात्रै नभई मुलुककै पर्यटन र अर्थतन्त्रमा जापान उडानले ठूलो महŒव राख्नेछ । जापान नेपाली विद्यार्थी तथा कामदारको आकर्षक गन्तव्य हो । जापानबाट झन्डै ३० हजारहाराहारी पर्यटक वार्षिक नेपाल भ्रमणमा आउने गरेको तथ्यांक छ । ओसाकापछि नेवानिले नारिता विमानस्थलबाट पनि उडान हाल्ने तयारी गरेको छ । नेवानि जापानपछि चीनमा समेत यसै वर्ष उडान विस्तारको तयारीमा छ । 

निर्माणाधीन अधिकांश पाँचतारे होटेल सञ्चालनमा आउँदै
निर्माणको क्रममा रहेका अधिकांश पाँचतारे होटेल ०७६ भित्र सञ्चालनमा आउनेछन् । मिनी ठमेल उपनाम दिइएको छाया सेन्टर सञ्चालनमा आएको छ । यसको सबैभन्दा माथिल्लो भागमा अवस्थित छ, अलफ्ट होटेल । यो होटेलको आधिकारिक वेभसाइटअनुसार मे २०१९ (वैशाख—जेठ)मा सञ्चालनको तयारी छ । नक्सालस्थित मारियोट काठमाडौं होटेलको सफ्ट ओपनिङ भइसकेको छ । यसै वर्ष यो होटेल पनि पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी छ । 

नक्सालमै बन्दै गरेको अर्को पाँचतारे डलब ट्री हिल्टन पनि यस वर्ष निर्माणको अन्तिम चरणमा पुग्ने कम्पनीले जनायो । चन्द्रागिरिमा पाँचतारे रिसोर्टले हालै सेवा सुरु गरेको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा काठमाडौंमा निर्माण भइरहेको पाँचतारे होटेल सेराटन पनि यसै वर्ष सञ्चालनमा ल्याउने तयारीसहित काम भइरहेको छ ।  

 निजी आवास र सम्पदा पुनर्निर्माणमा प्रगति
पुनर्निर्माणमा यस वर्ष सफलता मिल्ने अपेक्षा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छ । चालू आवभित्रै निजी आवासतर्फ ८० प्रतिशत घर बनिसक्ने प्राधिकरणको भनाइ छ । यसबाहेक निर्माणका क्रममा रहेका अधिंकाश सम्पदा निर्माण भइसक्नेछन् । विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माणको प्रगति उत्कृष्ट छ । प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्र अधिकांश दरबार स्क्वायरभित्रका सम्पदा अवलोकनयोग्य हुने गरी धमाधम पुनर्निर्माण जारी छ । 

 जलमार्गको पहुँचतर्फ देश
भारतले २०२० सम्ममा सम्पन्न गर्ने गरी नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ । भारतको केन्द्रीय सरकारले गंगादेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो । बिहारको हजिपुर (गंगा र गण्डकको संगम)देखि बगहा (नेपालको सिमानानजिक)सम्म करिब ३ सय किलोमिटर लामो जलमार्ग निर्माणले गति लिएको छ । गंगा–गण्डक जलमार्गले आगामी पाँच वर्षमा १ करोड १६ लाख टन कार्गो बोक्ने भारत सरकारको अनुमान छ । गंगा नदी र गण्डकमा समेत पूर्वाधार निर्माण सुरु भएसँगै नेपाल–भारत अन्तरदेशीय जलमार्ग निर्माणले गति लिने देखिएको छ । 

सबै स्थानीय तहमा वाणिज्य बैंक
‘क’ वर्गका बैंकले स्थानीय तहमा आफ्नो उपस्थिति तीव्र रूपमा बढाएका छन् । चालू आर्थिक वर्षको आठ महिनामै थप सय स्थानीय तहमा वाणिज्य बैंकले शाखा खोलेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । हालसम्म ७ सय २४ तहमा बैंकका शाखा पुगिसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । राष्ट्र बैंकले आगामी असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्‍याइसक्ने जनाएको छ । सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेपछि वित्तीय पँहुच तथा समावेशिता वृद्धि, बैंकको बजार विस्तार, स्थानीय विकास, औपचारिक अर्थतन्त्रको विकास र सरकारको राजस्वसमेत वृद्धि गर्न सहयोग पुग्नेछ । सरकारले चलाएको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई समेत यसले सघाउनेछ ।

 देशैभर फोरजी 
दूरसञ्चार सेवाप्रदायकहरूले एक वर्षभित्र देशैभर चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) विस्तार गरिसक्ने कार्ययोजना बनाएर अघि बढेको जनाएका छन् । अहिले नेपाल टेलिकम, एसनेल र स्मार्टले द्रुत गतिको फोरजी सेवा विस्तारलाई जोड दिइरहेका छन् । नेपाल टेलिकमले एक वर्षभित्रै देशका सबै स्थानीय तहमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) पुर्‍याउने भएको छ । टेलिकमले कम्तीमा हरेक स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी फोरजी सेवा विस्तार कार्य अघि बढाएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अहिले टेलिकमले पोखरा र काठमाडौंमा फोरजी सञ्चालन गरिरहेको छ । त्यस्तै, तीन दर्जन सहरमा फोरजी सञ्चालन गरिरहेको एनसेलले पनि सेवालाई देशभर विस्तार गरिरहेको जनाएको छ ।

विकासका कामले गति लिने अपेक्षा
सरकारले चालू आर्थिक वर्षमा कानुनी तथा संरचनागत सुधार गरेको भन्दै आगामी आर्थिक वर्षमा विकासका कामले अझ गति लिने जनाएको छ । वित्तीय संघीयता लागू भएको पहिलो वर्ष व्यवस्थापन र सुधारमै बितेको छ । अबको वर्ष भने विकासलाई गतिशील बनाउने सरकारको लक्ष्य छ । सरकारले राष्ट्रिय गौरवका आयोजना र रणनीतिक महत्वका परियोजना निर्माणलाई गति दिनुपर्ने सरोकारवाला बताउँछन् । ०७६ मा राष्ट्रिय गौरवका आयोजनाले गति लिए मात्रै पनि विकासको आधारवर्ष हुने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन् । काठमाडौं–तराई द्रुतमार्ग (फास्टट्र्याक), मध्यपहाडी लोकमार्ग, अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिनेछन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई अघि बढाउन सकिए समृद्धिको आधार तय हुने उनको भनाइ छ ।  नया पत्रिका बाट साभार

comments powered by Disqus

Interview+ View All

सिनेजगतका नाएकको पोल्ट्रि फर्म देखि हाइड्रो पावर सम्मको अनुभब

कुनै जमानामा सिनेमा हलहरु तताउने (हिरो) प्रकाश अधिकारी अहिले आफ्नो कलाकारी क्षेत्र संग संगै हाइड्रो पावर सन्चालनमा पनि सक्रीय बन्नु भयको छ - प्रस्तुत छ , नेपालमा हाइड्रो पावरको बिषयमा उहाँले गरेको अनुभबहरु - १ . हजुर फिल्मिलाईनको मान्छे यो क्षेत्रमा कसरी लाग्नु भयो ? सुरुमा मैले सिनेमामा काम गरेता पनि पछी मैले अलि यो क्षेत्र भन्दा बाहिर निस्केर केहि अनुभब बटुल्ने बिषयमा लागे र तेस अबसरमा म- आफ्ना साथिहरुको सामुहिक लगानिमा पोल्ट्री फर्म खोलियो र त्यसमा मैले यती डुबेर काम गरेकि मैले काम गर्दा गर्दै म आफै डाक्टर बन्न पूगे जस्तै चल्लाहरुको चिरफार, चल्लाहरुलाई ओषधी खुबाउने देखी सुई लगाउने चल्लाहरुको सबै काम म आफैले गरे र अरु पडेर डाक्टर बने भने म अनुभबले डाक्टर बने पछी काम गर्दै जादा मलाई साइनेक्सको समस्या आएपछी त्यसलाई पुरा समय दिन सकिनर म आज भन्दा करीब १०,१२,बर्ष अगाडी यो क्षेत्रमा प्रबेस गरे

Article+ View All