International News
बंगलादेशले भारतबाट किन्ने विद्युत् ९६० मेगावाट पुर्याउँदै
काठमाडौँ, ११ फागुन: भारतको पश्चिम बंगाल र झारखण्ड राज्यस्थित दामोदर भ्याली कर्पोरेशन (दामोदर उपत्यका निगम–डिभिसी) ले बंगलादेशमा करिब ३ सय मेगावाट विद्युत् बेच्ने भएको छ । अल्पकालीन र दीर्घकालीन समयका लागि प्रतिस्पर्धा गरेर उक्त परिणामको विद्युत् बेच्ने निर्णय गरेको हो । विद्युत् बेच्न प्रतिस्पर्धाका लागि सरकारी कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई जिम्मा दिने निर्णय भएको छ ।
निगमले अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् बेच्न लागेको यो पहिलो पटक हो । कम्पनीका अनुसार अल्पकालीन विद्युत् बेच्ने समय सन् २०१८ को जुनदेखि सन् २०१९ को डिसेम्बरसम्म तोकिएको छ । यस्तै, दीर्घकालीन समय सन् २०२२ जनवरीदेखि सन् २०३३ को मेसम्म तोकिएको छ । विद्युत्गृह र एकीकृत प्रसारण लाइन बंगलादेशको सीमा नजिक भएकाले त्यहाँको विद्युत् माग पूरा गर्न मद्दत पुग्ने निगमका प्रवक्ताले बताए । निगमको हालसम्म जडित क्षमता ७ हजार २ सय ३७ मेगावाट छ । विद्युत् बेचेपछि संस्थाको घाटा कम गर्न सहयोग पुग्ने पनि अपेक्षा गरिएको छ ।
निगमले विभिन्न थर्मल प्लान्टसहित माइथान बाँधबाट उत्पादित ६० मेगावाटकाे जलविद्युत् अायाेजना पनि सञ्चालन गर्दै अाएकाे छ । ३ सय मेगावाट थप किनेपछि बंगलादेशले भारतबाट किने विद्युत्को परिमाण ९ सय ६० मेगावाट हुनेछ । ६ सय ६० मेगावाट अहिले किनिरहेको छ । बंगलादेशले ५ सय मेगावाट पश्चिम बंगाल सीमास्थित भेरमरा उच्च भोल्टेजको कुस्तिया सबस्टेसन र १ सय ६० मेगावाट त्रिपुराको कोमिल्लाबाट किनिरहेको छ । बंगलादेशले भेरमराको सबस्टेसन स्तरोन्नती गर्दैछ । स्तरोन्नतीपछि हाल ५ सय मेगावाट आयात गरिरहेकोमा ५ सय मेगावाट थप गर्न सकिनेछ ।
सबस्टेसन स्तरोन्नतीको काम जुन ३०, २०१८ मा पूरा गर्ने लक्ष्य छ । सबस्टेसन स्तरोन्नती पूरा गर्ने समयअघि नै बंगलादेशले जुन १ बाट नै ३ स मेगावाट आयात गर्ने तयारी गरिरहेको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको सन् २०१७ अप्रिलमा भएको भारत भ्रमणका बेला थप विद्युत् आयातको टुंगो लागेको थियो ।
द न्यूक्लियर एसियाबाट अनुवाद